कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको मूल्य एकैपटक ह्वात्तै बढेको छ । आज सूनको मूल्य प्रतितोला २० हजार ५०० सय रुपैयाँले बढेको हो । उच्च मूल्यवृद्धि पछि आज प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । सरकारले बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशत वृद्धि गरेसँगै त्यसको असर बजारमा देखिएको महासङ्घले जनाएको छ । सुन मात्रै नभई चाँदीमा पनि भन्सार दर १० प्रतिशत विन्दुले बढाएर २० प्रतिशत पुर्याइएको छ ।
सुनको मूल्यलाई अन्तर्राष्ट्रिय मूल्य, अमेरिकी डलरको मूल्य तथा नेपालमा लाग्ने भन्सार लगायत अन्य करले प्रभाव पार्ने गरेको छ । अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन चार हजार ७३० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्यमा पनि भारी बृद्धि भएको छ । आज चाँदी प्रतितोला ३ सय ५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।






