• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग

  •  नेपाल चौतारी
  • २०८३ जेष्ठ २७, बुधबार १२:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। यसै हप्ताबाट सुरु हुने विश्व फुटबलको महाकुम्भ यस फिफा विश्वकप अर्को संस्करणमा मात्र सीमित नभई फुटबल इतिहासमा युगान्तकारी परिवर्तन बन्ने संघारमा पनि छ।

    ९६ वर्षअघि उरुग्वेदेखि सुरु भएको फिफा विश्वकप फुटबलले सन् २०२६ मा आइपुग्दा आफ्नो सबैभन्दा ठूलो र फराकिलो रूप धारण गरेको छ । अहिलेसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म चल्ने फिफा विश्वकप आगामी बिहीबारदेखि सुरु हुँदै छ । पहिलोपल्ट तीन राष्ट्र (संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको) ले आयोजना गर्र्दै छन्, जहाँ ऐतिहासिक रूपमा ४८ राष्ट्रको चुनौती प्रस्तुत हुँदै छ।

    जापान र दक्षिण कोरियाले २००२ मा संयुक्त रूपमा विश्वकप आयोजनापछि दोस्रो पटक धेरै राष्ट्रमा विश्वकप खेल सञ्चालन हुँदै छ । यसै संस्करणदेखि यतिधेरै राष्ट्रले विश्वकप खेल्न लागेका हुन् । १६ रंगशालामा एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्वकपमा कुल १०४ खेल हुनेछन्।

    यो संख्या विश्वकप इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो । विश्वकप अब सीमित राष्ट्रहरूको प्रतियोगिता रहेन र विश्वव्यापी फुटबल आन्दोलनको झल्को बन्न पुगेको छ । सन् १९९८ देखि पछिल्ला सात संस्करणमा ३२ राष्ट्रले विश्वकपमा प्रतिस्पर्धा गर्दै आएका थिए, जति बेला कुल ६४ मात्र हुन्थे तर फिफाले सहभागिता बढाउने निर्णय गर्दा धेरैले आलोचना गरेका थिए । कतिपयले गुणस्तर घट्ने तर्क गरे भने कतिपयको खेलाडीमाथि थप भार पर्ने चिन्ता थियो । तर फिफाको दृष्टिकोण फरक रह्यो । विश्वकपलाई समावेशी बनाउने फिफाको निर्णयकै कारण केप भेर्डे, कुरेसाओ, उज्बेकिस्तान र जोर्डनलगायत राष्ट्रले पहिलो पटक विश्वकपको मञ्च देख्न पाएका छन् । फुटबलको केन्द्र युरोप र दक्षिण अमेरिकामा मात्र सीमित छैन भन्ने सन्देश विश्वकप २०२६ ले दिँदै छ।

    यस पटकको अर्को विशेषता भनेको तीन राष्ट्रको संयुक्त आयोजना हो । मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलसदेखि न्यु जर्सीसम्म फैलिएको विश्वकप वास्तवमै उत्तर अमेरिकी महादेशको उत्सव बन्नेछ । विश्वकपको आकर्षण नयाँ ढाँचा र नयाँ राष्ट्रहरू मात्र छैनन् । फुटबलका लिजिन्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीसँगै नेइमार पनि आकर्षणको केन्द्र बनेका छन् । फेरि एकपटक विश्वकप मञ्चमा यी स्टारका जादुमयी कलाको प्रतीक्षामा समर्थक छन् । करिब दुई दशकदेखि विश्व फुटबलमा राज गरेका महान् खेलाडी रोनाल्डो र मेसीका लागि यो अन्तिम विश्वकप हुन सक्छ।

    पोर्चुगलका रोनाल्डो २२६ अन्तर्राष्ट्रिय खेलसहित इतिहासकै सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । पाँच फरक विश्वकपमा गोल गर्ने अद्वितीय कीर्तिमान पनि रोनाल्डोकै नाममा छ । अर्जेन्टिनाका कप्तान मेसी विश्वकप इतिहासमा सर्वाधिक २६ खेल खेल्ने खेलाडी हुन् । गत संस्करणको कतार विश्वकप जितेर करिअरको अधुरो सपना पूरा गरिसकेका मेसी अर्को अध्याय थप्ने लक्ष्यमा छन् । विश्वकप २०२६ ले पुस्तान्तरणको कथा पनि बोकेको छ । एकातिर ४३ वर्षे स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन छन् भने १७ वर्षे मेक्सिकन प्रतिभा गिल्बर्ट मोराले नयाँ अध्याय कोर्ने आशा छ । उनीसँगै स्पेनका लामिन यामालजस्ता युवा स्टारको विश्वकप उदय अर्को रोचक कथा बन्न सक्छ।

    दुई पुस्ताबीचको २५ वर्षभन्दा बढीको अन्तरले विश्व फुटबलमा भइरहेको परिवर्तनलाई प्रतीकात्मक रूपमा देखाउँछ । विश्वकप इतिहास पल्टाउँदा ब्राजिल सबैभन्दा सफल (पाँच पटकको विजेता) राष्ट्र हो । विश्वकपका सबै संस्करण खेल्ने एकमात्र टोली ब्राजिलसँग ७६ जित, २३७ गोलसँगै १२९ गोलअन्तरको कीर्तिमान पनि छ । यो आँकडामा जर्मनी दोस्रो स्थानमा छ । पछिल्ला केही वर्षमा विश्व फुटबलको शक्ति सन्तुलन फेरिएको छ । अर्जेन्टिना, फ्रान्स, स्पेन र इङ्ल्यान्ड नयाँ पुस्ताका खेलाडीका साथ उपाधिका बलिया दाबेदार देखिएका छन् । सन् २०१८ को च्याम्पियन र २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रो विश्वकप फाइनल पुग्ने अभियानमा छ । त्यसो भयो भने विश्व फुटबल इतिहासको एउटा दुर्लभ अध्याय थपिनेछ।

    जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोलको विश्वकप कीर्तिमान छ । मेसी १३ गोल र फ्रान्सका किलियन एमबाप्पे १२ गोलसहित उनलाई पछ्याइरहेका छन् । २७ वर्षे एमबाप्पे विश्वकप कीर्तिमानधारी बन्न सक्छन् । यस विश्वकपमा कुल एक हजार दुई सय ४८ खेलाडी सहभागी हुनेछन् । उनीहरू ७१ देशका चार सय ४९ क्लबबाट आएका छन्।

    विश्व फुटबलको आर्थिक केन्द्र मानिने इङ्ल्यान्डका क्लबले सबैभन्दा धेरै (२००) खेलाडी विश्वकपमा पठाएका छन् । म्यानचेस्टर सिटीको मात्र १९ खेलाडी विश्वकपमा छन्। विश्वकप उपाधिको कथा मात्र होइन सपना र सम्भावनाको पनि हो । कतिपय राष्ट्र पहिलो जित खोज्दै मैदानमा उत्रनेछन् । कतिपय पुराना कीर्तिमान जोगाउने प्रयासमा हुनेछन् । कतिपय खेलाडी इतिहास लेख्नेछन् भने कोही पहिलोपल्ट विश्वमञ्चमा उदाउन सक्छन्।

    उरुग्वेमा सन् १९३० मा १३ राष्ट्रबाट सुरु भएको विश्वकपको यात्रा अहिले ४८ राष्ट्रसम्म आइपुगेको छ । यो फुटबलको लोकप्रियता, व्यापारिक विस्तार र विश्वव्यापी पहुँचको सबैभन्दा ठूलो प्रमाण हो । विश्वकप २०२६ प्रतिस्पर्धा मात्र होइन विश्व फुटबलको बदलिँदो अध्याय हो । पुराना नायकहरूको सम्भावित अन्तिम अध्याय हुँदा नयाँ नायकहरूको जन्म हुन सक्छन्।

    Post Views: 104
    प्रकाशित मिति: २०८३ जेष्ठ २७, बुधबार १२:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.