जेनजी आन्दोलन यता छवि खस्किएको नेकपा एमाले थप संकटमा देखिएको छ । पार्टी पुर्नगठन र नेतृत्व परिवर्तनको एजेण्डामा मुख्य पदाधिकारीहरु नै जोडतोडले लागेपछि एमालेभित्र औपचारिक विग्रहको जोखिम बढेको हो ।
अध्यक्ष केपी शर्मा ओलीलाई पद त्यागेर मार्गप्रशस्त गर्न गरेको आग्रहमा ओली टसमस नभएपछि उपाध्यक्ष विष्णु पौडे, महासििचव शंकर पोखरेलसहितका अधिकांश पदाधिकारीहरु पार्टीलाई नयाँ शिराबाट अघि बढाउने तयारी गरेका हुन् । यसको संकेतका रुपमा शनिवार अध्यक्ष ओलीले निकटका कार्यकर्ताहरुलाई उपाध्यक्ष र महासचिव नै पार्टी विभाजन गराउन लागेको भन्दै सचेत गराएको घटनालाई लिईएको छ । विगतमा आफूसँगै उभिएका पौडेल र पोखरेल पुनर्गठनको पक्षमा लागेपछि ओलीको आक्रोश बढेको बताईएको छ ।
पुर्नगठनका पक्ष र विपक्षमा पदाधिकारीहरुसमेत स्पष्ट कित्तामा उभिएका छन् । उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव महेश बस्नेत, नेतृ रामकुमारी झाँक्रीले भने अहिले नै अध्यक्ष ओलीको विकल्प खोज्न नहुने बताईरहँदा अन्य अधिकांश पदाधिकारी नयाँ नेतृत्वको लबिङमा उत्रिएका छन् ।
नेतृत्व पुनर्गठनका लागि उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, रघु पन्त, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराईलगायत नेताहरूले औपचारीक छलफल नै सुरू गरेको चर्चा छ । उपाध्यक्ष पौडेलले त सामाजिक सञ्जालमै आम निर्वाचन– २०८२ को वस्तुनिष्ठ समीक्षा गर्न र नेकपा (एमाले)को गुमेको जनमत र प्रतिष्ठा पुनस्थापित हुनेगरी पार्टी पुनर्गठनको अभिभारा पूरा गर्न सक्षम हुनेछौं भन्दै ओलीको आरोपलाई पुष्टि गरेका छन् । जसले गर्दा विगत केहीदिनयता एमालेमा अन्तरसंघर्ष चरम उत्कर्षमा पुगेको राजनीतिक वृत्तमा चर्चा बढेको छ ।
एमालेको गतवर्ष सम्पन्न महाधिवेशनमा सुरेन्द्र पाण्डेलाई पराजित गर्दै प्यानलसहित अध्यक्षमा ओली निर्वाचित भएका थिए । तर निर्वाचनमा शर्मनाक हार व्यहोरेपछि आफ्नै समूहका नेताहरुबाट ओलीको व्यापक आलोचना हुँदै आएको छ । त्यसो त केही महिना अघि युवा एवं विद्यार्थी नेताहरुले पार्टीमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान पनि चलाएका थिए ।






