किर्तीमानी नेपाली आरोही निर्मल पुर्जा (निम्सदाइ) पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी बेपत्ता भएका छन् । पुर्जाको नेतृत्वमा गएको १० सदस्यीय अन्तर्राष्ट्रिय पर्वतारोही टोली काराकोरम रेन्जमा पर्ने ८ हजार ४७ मिटर अग्लो हिमाल आरोहणका क्रममा बेपत्ता भएको हो ।
हिजो मध्यान्हतिर हिमालमा गएको हिमपहिरोपछि उक्त टोलीसँगको सञ्चारसम्पर्क पूर्ण रूपमा विच्छेद भएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् । अर्न्तराष्ट्रिय सञ्चारमाध्यममा उल्लेख भए अनुसार बेपत्ता हुने टोलीमा ५ जना नेपाली नागरिकसहित एक अमेरिकी, एक चिनियाँ र एक ओमानी नागरिक रहेका छन् ।
सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमालहरू कीर्तिमान समयमा सफलतापूर्वक आरोहण गरेर विश्वचर्चामा आएका पुर्जाको नेतृत्व रहेको यस टोलीको खोजी तथा उद्धारका लागि मौसम अनुकूल हुनेबित्तिकै हेलिकप्टरको प्रयोग गर्ने तयारी भइरहेको छ ।
पाकिस्तानको अल्पाइन क्लबले सरकारी निकायहरूसँगको समन्वयमा तुरुन्तै उद्धार कार्य सुरु गरिएको र सबै उपलब्ध स्रोतसाधनहरू परिचालन गरिएको जनाएको छ । नेपाल सरकारले यसबारे अहिलेसम्म कुनै औपचारिक जानकारी गराएको छैन ।






