नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् काठमाडौमा जारी राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोईरालाले भेलाको उद्घाटन सत्रमा देखिएको सहभागिताले अत्यन्तै उत्साहित भएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा लेख्दै कोईरालाले भेलाको उपस्थितीले कांग्रेसलाई एकताबद्ध बनाउनका लागि ठूलो दबाब सिर्जना गरेको अनुभुति व्यक्त गरेका हुन् ।
“तपाईंहरूले आफ्नो सहभागितामार्फत देखाउनुभएको यो उर्जा र प्रतिबद्धताले मलाई नेपाली कांग्रेसभित्रका गुटका पर्खालहरू भत्काएर अग्रज र युवाबीचको पुल बन्न, नेता र कार्यकर्ताबीचको दूरी घटाउन तथा प्रतिशोधको होइन, मेलमिलापको राजनीतिलाई अगाडि बढाउन थप हौसला दिएको छ।”–उनले लेखेका छन् ।
२०३३ सालमा वीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको समयको स्मरण गर्दै आज पनि उक्त नीतिको सान्धर्विकतामाथि जोड दिएका छन् । “अहिले पनि नेपालको राष्ट्रियतामाथि गम्भीर चुनौती देखापरेका छन् । यो चुनौतीहरूको सामना नेपाली कांग्रेसको बृहत्तर एकताले मात्र गर्न सक्छ भन्ने मेरो विश्वास छ । त्यसैले अबका दुई दिन तपाईंहरू सबैले नेपाली कांग्रेसको बृहत्तर एकता र हाम्रो राष्ट्रियता जोगाउनका लागि अझ बढी मेहनत गर्नुहुनेछ भन्ने विश्वास मैले लिएको छु।”–उनको भनाई छ ।
डा कोईरालाले भेलाको उद्घाटन सत्रमै नेपाली कांग्रेसको बृहत्तर एकताका लागि भेला आयोजना गरिएको सर्न्धव स्पष्ट पारेको र कांग्रेस कुनै एक व्यक्तिले मात्र बनाउन नसक्ने कोईरालाले उल्लेख गरेका छन् । कोईरालाले लेखेका छन्– “व्यक्तिले पार्टीमाथि नियन्त्रण गर्न सक्ला, तर पार्टी निर्माण गर्न सक्दैन । कांग्रेस बनाउन लाखौँ लाख नेता–कार्यकर्ता चाहिन्छन् । अग्रजहरूको अनुभव, युवाको उर्जा र जनताको विश्वास चाहिन्छ । यही उद्देश्यका साथ कांग्रेसलाई कसरी एकताबद्ध बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्न यो राष्ट्रिय भेला आयोजना गरिएको हो।”
नेपाललाई फेरि एकपटक राष्ट्रिय मेलमिलापको आवश्यक रहेको कोईरालाको धारणा छ–उनका अनुसार “त्यो मेलमिलाप भनेको कांग्रेसभित्र बृहत्तर एकता कायम गर्दै लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्य र समझदारी स्थापित गर्नु हो । त्यो मेलमिलाप सबै भाषा, धर्म, जातजाति र भूगोलबीचको एकता र सद्भावको प्रतीक हो। राष्ट्रिय मेलमिलाप र कांग्रेसको बृहत्तर एकता नै भेलाको दृढ संकल्प हो । ”
“प्रतिस्पर्धा गरौँ, तर कांग्रेसलाई विभाजित नगरौँ । विचारमा बहस गरौँ, तर मनमा दूरी नबढाऔँ । पुस्ता बदलौँ, तर इतिहास नबिर्सौँ । नेतृत्व परिवर्तन गरौँ, तर कांग्रेसको आत्मा नबदलौँ । विगतका संघर्षलाई स्मरण गर्दै अब निर्माणमा जुटौँ । आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गरौँ । विभाजित मनलाई समेट्दै सहकार्य र एकताको नयाँ अध्याय सुरु गरौँ।”–उनले थपेका छन् । डा.कोईरालाले लाई राष्ट्रिय भेलाका सहभागीहरुले दुई दिनसम्म उल्लेखित विषयमा केन्द्रित भई नेपाली कांग्रेसको बृहत्तर एकताका लागि दिने सुभावले आफूलाई थप बल, उर्जा र मार्गदर्शन विश्वास व्यक्त गरेका छन् ।






