काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायण कलश यात्राका क्रममा कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गरेका छन् ।
चाँगुनारायण कलश यात्रामा सहभागी पूजारीसहितको टोली मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेको थियो । सो अवसरमा राष्ट्रपति पौडेलले विधिपूर्वक कलशमा छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गरेका हुन् ।
भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा कलश पैदल यात्रामार्फत काठमाडौंको हनुमानढोका तथा वसन्तपुर ल्याउने परम्परा छ ।
वसन्तपुरमा कलश ल्याएपछि विधिपूर्वक पूजा गरिन्छ । त्यसपछि राष्ट्रप्रमुखले कलशमा आफ्नो छायाँ दर्शन गरी टीका, फूल तथा प्रसाद ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ ।
चाँगुनारायणको कलश यात्रा धार्मिक आस्था, संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ ।






