नुवाकोट — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको केबल डक्ट टनेलको मुख खोल्ने काम तीव्र पारिएको छ। बाढीका कारण आयोजनाका सुरुङ तथा मुख्य संरचना पुरिएपछि त्यहाँ मानिस फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।
नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोलीसहित ९३ जनाको प्राविधिक तथा उद्धार टोली पाँच वटा एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित उद्धारमा खटिएको छ।
सुरुङको प्रवेशद्वारमा करिब ४० मिटर लामो र २० मिटर अग्लो भत्किएका फलामे संरचना तथा ठूला ढुंगासहितको डेब्रिस थुप्रिएको थियो। रातदिन निरन्तर प्रयासपछि डेब्रिस पन्छाएर माथिबाट करिब तीन फिट सुरुङको मुख खोलिएको छ।
उद्धार टोली सुरुङभित्र करिब १५ देखि २० मिटरसम्म प्रवेश गरिसकेको छ। तर एक्स्क्याभेटर तथा अन्य मेसिन सुरुङभित्र लैजानका लागि प्रवेशद्वार पूर्ण रूपमा खुलाउनुपर्ने भएकाले बाँकी डेब्रिस हटाउने काम भइरहेको छ।
उद्धार टोलीले सुरुङमा रहेका थप सात वटा ठूला बोल्डर ब्लास्टिङमार्फत हटाउने तयारीसमेत गरेको छ।
करिब १७० मिटर लामो उक्त सुरुङ माटो र लेदोले भरिएको छ। सुरुङ पूर्ण रूपमा छिचोलेपछि मात्रै आयोजनाको पावरहाउससहित अन्य मुख्य संरचनामा पुग्न सकिने भएकाले उद्धार टोलीले प्रवेशद्वार खुलाउने र भित्रको डेब्रिस हटाउने कामलाई प्राथमिकतामा राखेको छ।
उद्धार टोलीले सुरुङभित्रको अवस्था पहिचान गर्दै सम्भावित जोखिमलाई ध्यानमा राखेर चरणबद्ध रूपमा काम अघि बढाइरहेको छ।






