काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज बाढी प्रभावित क्षेत्र नुवाकोट जाने भएका छन्।
बाढीपीडितका लागि राहत सामग्रीसहित स्थलगत निरीक्षण गर्न देउवा आज बिहान ९ बजे काठमाडौँबाट स्थलमार्ग हुँदै नुवाकोट प्रस्थान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।
कार्यक्रमअनुसार देउवाले बिहान ११ बजे नेपाली कांग्रेस नुवाकोटको पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट गरी बाढीबाट भएको क्षतिबारे जानकारी लिनेछन्।
त्यसपछि उनले विदुरस्थित ढुङ्गेमा बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्नेछन्। त्यसैगरी देवीघाट पुगेर बाढीबाट भएको क्षतिको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ।
स्थलगत निरीक्षण तथा भेटघाट सम्पन्न गरी देउवा आजै काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ।






