काठमाडौँ। नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई तत्काल राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बाढीपछि सम्पर्कविहीन रहेका तीन जना पत्रकारका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराइने भएको छ।
राहत पाउनेमा नयाँ पत्रिका शाखाका सदस्य तथा महासङ्घका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी, भक्तपुर शाखाका पूर्वसल्लाहकार शेखर ढुङ्गाना र नुवाकोट शाखाका सदस्य राजकुमार नेपालीका परिवार छन्।
त्यस्तै, बाढीका कारण परिवारका सदस्य तथा घरवाससमेत गुमाएका राताेपाटीकर्मी एवं रसुवा शाखाका सदस्य निराजन पौडेललाई पनि महासङ्घले रु एक लाख आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ।
महासङ्घले बाढीबाट प्रभावित अन्य पत्रकार तथा सञ्चारमाध्यमलाई पनि सम्बन्धित जिल्ला शाखामार्फत प्राप्त क्षति विवरण र आवश्यकताका आधारमा मापदण्ड तय गरी राहत तथा सहयोग उपलब्ध गराउने जनाएको छ।
विपद्का समयमा प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई सहयोग गर्न इच्छुक महासङ्घका सदस्यलाई महासङ्घको विपद् कोषमा रकम जम्मा गर्नसमेत आग्रह गरिएको छ।
गत भदौ १० गते चीनको तिब्बतबाट आएको विनाशकारी बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो।






