नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत एकल सिफारिस भएका छन् । तर क्षेत्र नम्बर २ बाट भने ७ जनाको नाम सिफारिस भएको छ । नुवाकोटको क्षेत्र नम्बर १ लाई महतहरूको र क्षेत्र नम्बर २ लाई केसीहरूको क्षेत्र भनिन्छ । यसभन्दा अगाडि क्षेत्र नम्बर १ बाट डा रामशरण महत र क्षेत्र नम्बर २ बाट अर्जुननरसिंह केसी चुनाव लड्दै आएका थिए ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ केन्द्रिय सदस्य तथा बाग्मति प्रदेशका निर्वतमान मुख्यमन्त्रि बहादुरसिंह लामा, संविधानसभा सदस्य जगदिश्वरनरसिंह केशी, धुव्र अधिकारी, चोकराज शाक्य, श्री सापकोटा, नमराज पाण्डे र बिन्दा अर्यालको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ अर्जुननर्सिङ केसी, जगत बहादुर तामाङ, गिता आमात्य र रुकमिणि सेढाईलाई सिफारिस गरिएको छ । राष्ट्रिय सभा सदस्यका लागि श्रीराम श्रेष्ठ, राजु थापा र राज्यलक्ष्मी पाण्डेको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ भने पुरुष सूचिमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस गरिएको छ । समानुपातिक महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य सिफारिस सूचीमा परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपाली को नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
यसैबीच नेपाली कांग्रेस नुवाकोटका क्षेत्रीय समितिहरुले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकमा गरेको उम्मेदवार सिफारिसमा नपरेपछि डा. केदारनरसिंह केसीले असन्तुष्टी ब्यक्त गरेका छन् । क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा भाई जगदिश्वारनरसिंह केसी र समानुपातिकमा दाई अर्जुननरसिंह केसी परेका छन् । डा केदारनरसिंहले उनले पार्टीमा गरेको त्याग, समर्पण र इमान्दारिताप्रति क्षेत्रीय समितिले अबमुल्यन गरेको उल्लेख गर्दै आफूलाई आगामी निर्वाचन लड्न कसैले रोक्न नसक्ने चेतावनी दिएका छन् ।






