राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिल बहादुर थापाले पदबाट राजीनामा दिएका छन् । थापा राजीनामा दिएर राष्ट्रपति कार्यालयबाट विदाई समेत भइसकेका छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको नेपाली कांग्रेसबाट उमेदवार बन्नका लागि राजीनामा दिएको बताइएको छ । उनले कोशी प्रदेशबाट अन्य कोटामा राष्ट्रियसभाको टिकट निश्चित भएको भन्दै उनले राजीनामा दिएका हुन् । पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल २०७४ को निर्वाचनपछि राप्रपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । थापा २०७९ सालको चुनावमा धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।
कांग्रेसले यसभन्दा अगाडि कोशी प्रदेशबाटै २०७९ सालमा झापाबाट पराजित भएको कृष्ण सिटौलालाई पनि राष्ट्रियसभामा पठाएको थियो । सिटौलालाई राष्ट्रियसभामा उमेदवार बनाउदा कांग्रेस भित्र र बाहिर आलोचना भएको थियो ।






