अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलेमात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने भएकाले निर्वाचनको विकल्प नभएको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ सरकारले अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् ।
उनले भनिन् –‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन नै हो ।’
निर्वाचनमार्फत् व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । २३–२४ भदौको जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको बताइन् ।






