राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार दिउँसो १ बजे बस्नेगरी रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ बीच हिजो राति छलफल भएको थियो ।
बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा भएको भेटमा पार्टी समायोजन, समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन तथा आगामी राजनीतिक रणनीतिबारे छलफल भएको बताइएको छ । यही विषयमा औपचारिक निर्णय लिन रास्वपाले आज केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि सिफारीस भएका नामहरुमा आलोचना बढेपछि नेतृत्व दबाबमा छ । अहिलेसम्म रास्वपाबाट सिफारीस भएका पाँच जनाले समानुपातिक बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरीसकेका छन् ।






