नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । यसअघि आइतबारका लागि तय गरिएको पार्टीको ५८औँ सचिवालय बैठक अविरल वर्षासँगै बाढी पहिरो र डुबान भएकाले बैठक आजका लागि सारिएको थियो ।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि, असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।
एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ ।
यसैबीच नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।






