ढाकाको एक विशेष न्यायाधिकरणले गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गरेकोमा बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधको दोषी ठहर गरेको छ। गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहरसमेत अदालतले गरेको छ ।
अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण आईसीटीमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् । तीन सदस्यीय इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ ।
हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएकोसमेत इजलासले ठहर गरेको छ । हसिनाको अहिले प्रतिबन्धित अवामी लिग पार्टीले ढाका न्यायाधिकरणलाई कंगारु अदालत भनेको छ र समर्थकहरूलाई विरोध गर्न आग्रह गरेको छ, जसले गर्दा देशमा हिंसाको डर बढेको छ। इजलासमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी छ । उनीविरुद्धको सजाय भने निर्धारण हुन बाँकी छ । फैसलाको अन्तिममा न्यायाधीशले सजाय निर्धारणको विवरण सुनाउने अपेक्षा गरिएको छ ।






