नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि पूर्व जिल्ला सभापति चतुरबहादुर चन्दलाई सर्बसम्मतले उम्मेदवार बनाउने भएको छ।
प्रतिनिधिसभा निर्वाचनको लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको बैतडीमा प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नु पर्ने केन्द्रको परिपत्र भएपनि जिल्ला कार्यसमिति बैतडीले एकल चतुरबहादुरको नाम सिफारिस गरेको हो।
प्रतिनिधि सभा सदस्यको उम्मेदवार छनौट प्रक्रियाकोको लागि शनिबार जिल्ला कार्यसमिति बैतडीको बैठकले उनको मात्र नाम सिफारिस गरेको हो। उम्मेदवार सिफारिसका लागि भएको बैठकमा सहभागी ८२ जनामध्ये ७३ जना मतदान प्रक्रियामा सहभागी भएकोमा सबै ७३ जनाले नै चतुरबहादुरलाई उम्मेदवार बनाउने पक्षमा मत प्रकट गरेका थिए।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष समेत रहेका चन्दले नेपाललाई क्रिकेट खेलमार्फत चर्चित र लोकप्रीय बनाउन अहोरात्र सक्रिय भएका सफल व्यक्ति हुन्। विश्वका कयौं देशहरुले नेपालीलाई क्रिकेट खेलमा सफल र सक्रिय भएको देशको रुपमा चिन्ने गरेका छन्।






