नेकपा एमाले ओखलढुंगामा केपी ओली पक्षलाई चार जना महाधिवेशन प्रतिनिधि दिएर विवाद समाधान भएको छ । मंसिर १३ गते निर्वाचन भएर सवै इश्वर पोखरेल पक्षका प्रतिनिधि निर्वाचित भएपछि केपी ओली पक्षले विवाद निकालेको थियो । विवादपछि केन्द्रले हस्तक्षेप गरि कोशी प्रदेश इन्चार्ज शेरधन राई, संगठन विभाग सदस्य विशाल भट्टराईलाई विवाद मिलाउने जिम्मा दिएको थियो ।
एकपक्षीयरूपमा घोषणा गरिएको प्रक्रिया बदर गरेर केन्द्रीय संगठन विभागले ५ दिनभित्र पालिकास्तरमा चुनाव गराउन वा सहमति कायम गर्न राई र भट्टराईका साथै ओखलढुंगा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार र किशोर अधिकारीको कार्यदललाई जिम्मा लगाएको थियो ।
केपी ओली पक्षका पूर्व जिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव तथा लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र सकुन्तला राजभण्डारीलाई महाधिवेशन प्रतिनिधि दिएपछि ओली पक्ष पनि सहमत भएको हो ।
इश्वर पोखरेल पक्षका जिल्ला कमिटी अध्यक्ष जीबी खड्का, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे यसअघि नै घोषित भएको टीमबाट परेका छन् ।






