नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा अध्यक्ष केपी ओलीले गर्नेछन् । ११ औँ महाधिवेशनमार्फत् एमालेका साढे २२ सय प्रतिनिधिले पाँच वर्षका लागि पार्टीको नेतृत्व चयन गर्नेछन्। उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने एमालेले दाबि गरेको छ ।
उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दाबढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ। महाधिवेशन उद्घाटनमा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिने र त्यही पालालाई रिमोटद्वारा बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी गरिएको छ। पार्टीको ११औँ महाधिवेशन भएकाले पार्टीका ११ वटा झण्डा राखिने, १० वटा झण्डा शुरुमै फहराइने, एउटा झण्डा रिमोटबाट फहराउने तयारी गरिएको छ।
महाधिवेशन उद्घाटनसत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि निम्ति कोटेश्वरबाट गट्ठाघरसम्म गाडीमा आउन सकिने र गठ्ठाघरमा रहेको नागरिक उडड्यन प्राधिकरणको खाली चौरमा तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङमा पार्किङको व्यवस्था गरिएको छ। उद्घाटन अघि गठ्ठाघर र जगातीबाट भव्य र् याली गरी आउने व्यवस्थासमेत गरिएको छ।






