ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जेनजीहरूले निर्वाचनका बारेमा धारणा परिवर्तन गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको बताए। तर जेनजीले पछिल्लो समय निर्वाचन हुनै नदिने भनेर सार्वजानिक अभिव्यक्ती दिन थालेको उनको भनाइ थियो।
महर्जनले भने– ‘सम्माननीय प्रधानमन्त्रीज्यूको जुन सरकार छ, यसको खास काम भनेको फागुन २१ गतेको चुनाव सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो। अलिकति मलाई चिसो परिरहेको छ कि जेनजीले आमा भन्नुहुन्छ। तर पछिल्लो कालखण्डमा आएर स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिँदैनौँ भनिरहेको छ। यो भन्न पाइँदैन। चुनाव गर्नैपर्छ।’
निर्वाचन हुनैपर्ने र निर्वाचन सफल बनाउने काममा जेनजीले पनि सहयोग गर्नुपर्ने उनले बताए। केहिदिन अगाडि एक टेलिभिजन अन्तरवार्तामा जेनजीका प्रतिनिधि सुधन गुरुङले फागुन २१ मा चुनाव हुन नदिने बरु संविधान संसोधन गर्ने सर्तमा प्रतिनिधिसभा पुनःस्थापना गर्ने बताएका थिए ।






