नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तय गर्दा विधान मस्यौदा समिति, क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने निर्णय गरेको थियो ।
कांग्रेसले मंसिर १५ गते सम्पन्न भएको केन्द्रीय समितिले पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो । तर अरू दुई समिति बने पनि विधान मस्यौदा समिति केन्द्रीय समितिले निर्णय गरेको १६ औं दिनसम्म गठन हुन सकेको छैन ।
पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती नेतृत्वको निर्वाचन समितिमा खड्काले लमजुङ घर भएका वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र सुनसरी घर भएका अधिवक्ता राजु कटुवाललाई सदस्य मनोनयन गरेका छन् । समितिमा अधिवक्ताद्वय यगराज पोखरेल र तेज रावल सदस्य थिए ।
त्यस्तै कार्यवाहक सभापति खड्काले सहमहामन्त्री महेन्द्र यादवको संयोजकत्वमा ५ सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति बनाएका छन् । समितिका चार सदस्यमा केन्द्रीय सदस्यहरू शिव हुमागाईँ, प्रा.डा. गोविन्दराज पोखरेल, अजयबाबु सिवाकोटी र शान्ति परियार बिकलाई सदस्य बनाइएको छ ।






