नेपाली कांग्रेसको १५ औं महाधिवेशनदेखि पार्टीका शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय समितिमा उमेदवार बन्ने व्यवस्था गर्नुपर्ने माग उठेको छ ।
नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरू नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का अध्यक्ष सिताराम केसी, प्रजातन्त्रवादी चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का रविभूषण झा, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी सहभागि बैठकले शुभेच्छुक संस्थाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिलाई उमेदवार बन्न व्यवस्था गर्नुपर्ने माग गरिएको हो ।
बैठकमा लोकतन्त्रप्रति आस्थावान पेसागत संघ–संस्थाका प्रतिनिधिहरूले कांग्रेसले यस्ता संस्थालाई नीति निर्माणमा उचित महत्त्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पार्टीले यस्ता संस्थालाई सदैव शुभेच्छुक र मतदाता मात्र ठानेको तथा महाधिवेशनमा मतदानको अधिकार दिएर उम्मेदवारीबाट वञ्चित गरेको प्रथा लोकतान्त्रिक नभएको तर्क गरेका थिए । बैठकमा बुद्धिजीवीहरूको छुट्टै क्लस्टर व्यवस्था गरी केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने पनि माग गरे।
यसै सन्दर्भमा आसन्न राष्ट्रिय सभा निर्वाचनलाई माध्यम बनाएर पेसागत संघ–संस्थाका प्रतिनिधिलाई उम्मेदवारीमा प्राथमिकता दिन कांग्रेसलाई आग्रह गरिएको छ । राष्ट्रिय सभा विज्ञहरूको सभा भएको स्मरण गर्दै पत्रकार, वकिल, डाक्टर, प्राध्यापक, इन्जिनियर र शिक्षकलाई राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा समेत उम्मेदवार बनाउन दबाब दिने निर्णय बैठकले गरेको छ ।






