तानसेन (पाल्पा)- बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् । बगनासकाली गाउँपालिका–९ चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल आज मृत भेटिएका हुन् ।
नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । मङ्गलबार पौडी खेल्ने क्रममा बस्याल बेपत्ता भएका थिए ।





